Post image Literature

कोट ला'का मान्छे - गजल

30-05-2025 • by Manakaji Kattel

आज बिहान हाम्रो घरमा कोट ला'का मान्छे आ'थे, गुम्म अनुहार अनि ठुलो पेट भा'का मान्छे आ'थे

आज बिहान हाम्रो घरमा कोट ला'का मान्छे आ'थे,
गुम्म अनुहार अनि ठुलो पेट भा'का मान्छे आ'थे ।

चिने चिने जस्ता लाग्ने निहुरिएर ढोग्न खोज्ने,
नाम के थ्यो तिनको कुन्नि, खै काँ'का मान्छे आथे ।

हिँजो सम्म बाहिरै थिए, छोराछोरी उतै बस्छन,
अचानक आज देशको गित गाका मान्छे आथे ।

दिन्न भन्‌नुभयो वा ले, तिनीहरुले झण्डै कुटे,
जो पछि मुन्‌द्रि ला'का कपाल उठा'का मान्छे आथे ।

के मागे बा तिनिहरुले के दिन्न भन्नुभा'को?
बावु! हाम्रो भोट बेचि नोट खा'का मान्छे आ'थे ।

आज बिहान हाम्रो घरमा कोट ला'का मान्छे आ'थे,
गुम्म अनुहार अनि ठुलो पेट भा'का मान्छे आ'थे ।
Comment This Post
Comments

No comments yet.